Thursday, July 24, 2025

के श्रीकृष्णमा चारै वर्णका गुणहरूको समावेश थियो ?

श्रीमद्भगवद्गीता सनातन  धर्मको एक महान दार्शनिक ग्रन्थ हो, जसमा भगवान् श्रीकृष्णले अर्जुनलाई युद्धभूमिमा जीवन, धर्म, कर्म र भक्तिको गूढ रहस्यहरू बताउनु भएको छ। गीता ४.१३ मा श्रीकृष्ण भन्नुहुन्छ:

"चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।"
यस श्लोक अनुसार, समाजलाई चार वर्णमा विभाजन गर्ने व्यवस्था भगवानले  गुण (सत्त्व, रज, तम) र कर्म (व्यवहार/कार्य) को आधारमा गर्नुभएको हो, जन्मको आधारमा होइन।

जब श्रीकृष्णले स्वयं वर्ण व्यवस्था गुण र कर्मका आधारमा गर्नुभयो भने, के उहाँमा ती चारै वर्णका गुणहरू थिए?  मलाई लाग्छ  निःसन्देह थिए । भगवान् श्रीकृष्ण पूर्ण पुरुषोत्तम हुनुहुन्छ, र उहाँमा सबै प्रकारका गुणहरूको समावेश पाइन्छ। अब हामी चारै वर्णका विशेषता अनुसार श्रीकृष्णका जीवन घटनाहरूको विश्लेषण गर्दै यो पुष्टि गर्छौं।

१. ब्राह्मण:  ज्ञान, सत्य, अध्यात्म र संयम

ब्राह्मणको प्रमुख धर्म भनेको ज्ञानको खोज र प्रसार हो। आत्मसंयम, वेद-अध्ययन, ध्यान, सत्यको पालन ब्राह्मणका गुण हुन्। श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुनलाई जीवनको रहस्य बताउँदै गीता उपदेश दिनुभयो। गीता एक यस्तो ग्रन्थ हो जसले ब्रह्मविद्या, कर्मयोग, भक्तियोग, र ज्ञानयोगको शिक्षा दिन्छ।
त्यसैले, श्रीकृष्णमा ब्राह्मणको गुण उच्चतम स्तरमा देखिन्छ।

२. क्षेत्रीय : पराक्रम, युद्धकला, धर्म र न्याय

क्षेत्रीयले समाजको रक्षाका लागि युद्ध गर्नु पर्दछ, अन्यायको विरोध गर्नुपर्छ। श्रीकृष्ण यद्यपि युद्धमा आफैं लड्नु भएन, तर उहाँले धर्मपक्षमा दृढ भूमिका निभाउनुभयो। अर्जुनको सारथी  बनेर, नीति र रणकौशलको प्रयोग गरेर कौरवहरूमाथि विजय प्राप्त गर्न मद्दत गर्नुभयो।
यो  क्षेत्रीय गुणको उदाहरण हो।

३. वैश्य — कृषिकर्म, व्यापार, पशुपालन

वैश्यको धर्म आर्थिक प्रबन्ध हो — व्यापार, कृषिकर्म र गोपालन। श्रीकृष्ण बाल्यकालमा ग्वालाको रुपमा कृषिकर्म, पशुपालनमा लाग्नु भो । यो  वैश्यको गुण थियो।

४. शूद्र — सेवा, समर्पण, सहकार्य

शूद्रले समाजको सेवा गर्छ। अन्यको सहयोगी बन्ने, सेवा गर्ने यस वर्णको विशेषता हो। श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुनका रथका सारथी बन्नु — एक राजकुमारका निम्ति सेवक बन्नु, एकदमै उच्च सेवा भाव दर्शाउने कर्म हो। यो भूमिकाले  शूद्रको भावलाई पनि उहाँमा देखाउँछ।

त्यसैले भगवान् श्रीकृष्ण कुनै एक वर्णमा मात्र सीमित हुनु हुन्नथ्यो । उहाँ सर्वगुणसम्पन्न हुनु हुन्थ्यो । ब्राह्मणको ज्ञान, क्षत्रियको शौर्य, वैश्यको पालनकर्म, र शूद्रको सेवा भावना — यी सबै गुणहरू उहाँमा समानरूपले विकसित थिए।
श्रीमद्भगवद्गीतामा वर्ण व्यवस्था जन्म होइन, गुण र कर्म को आधारमा बनाइएको भन्ने कुरालाई स्वयं श्रीकृष्णले आफ्नो जीवनबाट प्रमाणित गर्नुभएको छ।

 


Sunday, May 18, 2025

बिरबलको धर्को

 


अकबर-बिरबल प्रसंगमा अकबरले कहिलेकाही गम्भिर प्रश्न सोध्ने त कहिलेकाही बिरबललाइ अप्ठ्यारोमा पार्न सोधिएका उट्पट्याङ प्रश्नहरुको पनि प्रसंगहरु आउछन् | बिरबलको जवाफले उनलाई अवाक बनाउछ सधैं | बिरबलको जवाफले समाजलाई संदेश पनि दिन्छ |ती सवाल जवाफ मध्ये एउटा यो बिरबलको धर्को पनि हो |
अकबरको प्रश्न हुन्छ : अकबरले श्यामपाटीमा चकले एउटा धर्को तान्छन | सबैलाई प्रश्न सोध्छन्, यो धर्कोलाई नछोई  छोटो बनाऊ| जो पनि आउछ त्यो धर्कोलाई छोटो बनाउन मेटाउन खोज्छ | अकबरले सबैलाई प्रश्नको शर्त सम्झाउछन् कि धर्कोलाई नछोई छोटो बनाउने | कसैले पनि त्यो नमेटाइकन छोटो बनाउन नसक्ने जिकिर गर्छन् | अकबर प्रश्न गर्छन् सबै भारदारहरुलाई, के बिरबलले सक्छन त ? उनले पनि सक्दैनन् भन्ने एक स्वर आउछ | सधै बिरबललाई प्रश्नको उत्तर दिने मौका शुरुमै दिने र उसलाई अब्बल कहलाउने तपाइँहरुले आरोप लगाउनु हुन्थ्यो | आज उनलाई अन्त्यमा यो प्रश्न सोध्छु त्यसो त तपाइँहरुको आरोप जस्तो अरुबेला पनि उनलाई शुरुमै उत्तर दिने मौका दिएको थिइन| प्रसङ्गवस बिरबल कतै हुन्छन् र उनलाई डाकिन्छ | अकबरले प्रश्न दोहोर्याउछन् श्यामपाटीको धर्कोलाई नछोइकन छोटो बनाउन | बिरबल फटाफट श्यामपाटी तर्फ जान्छन र चकले अकबरले कोरेको धर्को नजिकै अर्को लामो धर्को कोरी दिन्छन | अकबर तिर फर्केर मुसुक्क हास्छन्, ‘हजुरको धर्को नछोइकन छोटो भएन त सरकार ?’ अकबर अरु भारदारतिर फर्की मुसुमुसु हास्छन् |
हामी र हाम्रो समाज कता गैरहेको छ ? अरुलाई नराम्रो बनाएर आफूलाई राम्रो देखाउन खोज्ने हामी र हामिले बिगारेको हाम्रो  संस्कार कहिले बिरबलको जस्तो लामो धर्को हुने | हामी कहिल्ल्यै अरु भन्दा राम्रो बन्ने प्रयास गरेनौ बल्की अरुको खुट्टा तानेर राम्रो बन्न खोज्यौं | यसरी समाजले कहिल्ल्यै फड्को मार्दैन सधैं उल्टो बाटो तिर उन्मुख बनाउछ | यो हामी सबैले महसुस गरेकै हो, नतिजाले त्यही भन्छ | १९८० ताका हामीसंगै थिए चीन, कोरिया अनि जापान | उनीहरुको आफू राम्रो बन्ने  संस्कार (अरुको खुट्टा नतान्ने) ले  गगनचुम्बी भए हामी खाल्डो खन्दै पाताल प्रवेश गर्न  थाल्यौ |
संस्कार तल देखि माथि र माथि देखि तल जहाँ पनि अद्योगति तिरै देख्छु केही अपवाद बाहेक| सरकार परिवर्तन के भएको हुन्छ, सत्ताको मोहले denial stage मा रहेका नेताले भोलि देखि नै यो सरकार टिक्दैन भन्दै हिड्छन् | प्रतिपक्षले  यो सरकारलाई कसरी रचनात्मक तरिकाले जनताको हकहितका लागि पृष्ठपोषण गर्ने भन्दा पनि कसरी सरकार ढाल्ने तिर उन्मुख देखिने | सत्तामा रहेका पनि देश र जनताको हितमा काम गर्ने भन्दा नि म्युजिकल चेयरमा म छुटी पो हाल्छु कि भन्ने त्रासमा रही राख्ने, सरकारमा रहुन्जेल सम्म आफ्नो कर्तव्य पूरा गरौ भन्दा पनि प्रतिपक्षप्रति औला ठडाएर काम गर्न दिएनन् भन्ने | हामी जनता पनि उस्तै; त्यस्तै व्यक्तिलाई चुन्छौ अनि नेताले देश बिगारे भनेर कफी गफमा  चिन्ता टोपली हाल्छौँ | हामी जनता पनि अधिकारको अनावश्यक हल्ला गर्छौ तर आफ्नो कर्तव्य पूरा गर्दैनौ, मेरो कर्तव्य पनि छ र मेरो त अधिकारै अधिकार मात्र पो हो भन्ने भ्रम हामीबाट पनि हट्नु जरुरी छ | कर्तव्य सधै उच्च स्थानमा रहन्छ अधिकार भन्दा | सामाजिक संजालमा विरलै पाइन्छ होला नागरीकले आफ्नो देश प्रतिको कर्तव्य निभाएको केवल यस्तो भएन उस्तो भएन मात्र गुनासो देख्छु र अधिकार खोजेको मात्र देख्छु | यो व्रहमाण्डमा जसको पनि सीमितता छ फरक केवल कति ठुलो र कति लामो भन्ने मात्र हो | आफ्नो सीमितताको महत्व बुझी थोरै समयमा उच्चतम कार्य  कसरी पूरा गर्ने ध्यान कति दिन सक्छौ हामी ? सधै यो प्रश्न गर्न सक्नु पर्छ हामीले आफूलाई | लोकतन्त्रमा एउटा सुन्दर पक्ष भनेको  वाक स्वतन्त्रता हो तर यसको पनि सीमा छ, मर्यादा छ | यसको दुरुपयोग गरी उच्छृङ्खलता प्रहसन गर्यौ | कार्यालयमा सेवाग्राही आउनु हुन्छ, तिम्रो कार्यालय कति फोहोर हो ? प्रश्न गर्नु हुन्छ तर आफूले खाएको खैनी नजिकै रहेको डस्टबिनमा नफाली भित्तामा थुकी दिनु हुन्छ | अरुलाई प्रश्न गर्दा आफू पनि पहिले संस्कारित हुनु जरुरी छ | जनता संस्कारित नभए नेता संस्कारित हुँदैनन् कर्मचारी संस्कारित हुँदैनन | त्यही जनताकै गर्भबाट नेता जन्मेका हुन् त्यहीबाट कर्मचारी आएका हुन् | आकाश तिर फर्केर थुक्दा बिचार गर्नु पर्छ |

जबसम्म अकबरको धर्को मेटाउने कोशिश गर्छौ तबसम्म देशको प्रगति हुनेवाला छैन | देशको रुपान्तरण बिरबलको धर्कोले  गर्छ | बिरबलको धर्को कोर्न आजै देखि आफैबाट शुरु गरौँ: सुन्दर समाजको निर्माण अवश्य हुन्छ, देशले प्रवेग प्राप्त गर्छ  प्रगतिपथको |

दी अडीसी र रामायणको कथा प्रसँग

कवि होमरको महाकाव्य “दी अडीसी” मा आधारित क्रिष्टोफर नोलनको फिल्म “दी अडीसी” मा  ट्रोजन युद्ध पश्चात  राजा अडिसियस र उनको टोली घर फर्किने क...