Monday, October 19, 2026

नवदुर्गाका नौ रुपबाट हामीले के सिक्ने ?

दुर्गा सप्तशतीको देवी कवच अनुसार

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी

तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्

नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः 

अर्थात प्रथम शैलापुत्री, दोश्रो ब्रह्माचारिणी, तेश्रो चन्द्रघण्टा, चौंथो कुष्माण्डा, पाँचौ स्कन्दमाता, छैटौं कात्यायनी, सातौँ कालरात्री, आठौँ महागौरी र नवौं सिद्धिदात्री  गरी नवदुर्गा भनिन्छ |

शैलापुत्री, ब्रह्माचारिणी र चन्द्रघण्टा  (स्थिरता, साधना र सजगता): हिमालयकी छोरी  शैलपुत्री  ले जीवनको दृढ सुरुवात र मानसिक स्थिरता लाई जनाउँछिन्।  ब्रह्मचारिणी जो कठोर तपस्या र संयमकी देवीका रुपमा लिइन्छ जसले  लक्ष्य प्राप्तिका लागि आवश्यक कठोर अनुशासन, तपस्या र निरन्तरता सिकाउँछिन्।  चन्द्रघण्टा जो  मस्तकमा घण्टा आकारको आधा चन्द्रमा धारण गरेकी  शान्तिका साथै वीरताकी देवीको रुपमा चिनिन्छ। उनको यो रूप शान्तिका साथै दुष्टहरूको विनाशका लागि तयार रहेको तत्परताको प्रतीक हो। उहाँको घण्टाको आवाजले असुरहरूको मनमा भय उत्पन्न गराउँछ।  उनको यो रुपले  बाहिरी कोलाहलका बीच आन्तरिक सजगता, एकाग्रता र मानसिक सन्तुलनलाई बुझाउछ ।

कुष्माण्डा, स्कन्दमाता  र कात्यायनी (सिर्जना, नेतृत्व र सङ्घर्ष):  कुष्माण्डा  जो आफ्नो मन्द मुस्कानले ब्रह्माण्डको सृष्टि गर्ने देवीको रुपमा चिनिन्छ।आन्तरिक रूपमा केन्द्रित भएपछि मानिसभित्र रचनात्मक ऊर्जा र उत्साहको जन्म हुन्छ भन्ने बताउछिन् । स्कन्दमाता जो भगवान कार्तिकेय अर्थात स्कन्दको माताको रुपमा पुजिन्छिन जसले आफ्ना छोरालाई असुरको विरुद्धमा लड्न सेनापतिको रुपमा विकास गर्छिन्। यो रुपले  मानिसलाई  समाज र परिवारको संरक्षण गर्ने जिम्मेवारी र नेतृत्वतर्फ अघि बढ्न प्रेरणा दिन्छ । कात्यायनी देवी जो ब्रह्मा विष्णु र महेश्वरको तेजले उत्पत्ति भएकी (आदिशक्तिलाई पुत्रीको रुपमा प्राप्त गर्न  कात्यायन ऋषिले आराधना गरेकोले उनको आश्रममा प्रकट भएकी पनि उल्लेख छ ) जसले शक्तिशाली असुर महिषासुरको वध गर्छिन्।आफ्नो जिम्मेवारी रक्षाका लागि आवश्यक पर्दा मानिसले  कात्यायनी  जस्तै निडर, दृढ र सत्यका लागि लड्ने व्यवहार देखाउनुपर्छ।

कालरात्री, महागौरी र सिद्धिदात्री  (अहंकार भंग, शुद्धीकरण र पूर्णता):  शुम्भ निशुम्भ तथा तिनका  सेनापतिद्वय चण्ड र मुण्ड तथा महापराक्रमी राक्षस रक्तबीज को वध गर्ने क्रममा देवी महाकाली (कालरात्रि रूप) को प्रकटीकरण भएको हो । रक्तबीजको शरीरबाट खसेको हरेक थोपा रगतबाट अर्को राक्षस जन्मिने जटिल परिस्थितिमा उहाँले नै रगत भुइँमा खस्न नदिई पान गर्दै रक्तबीजको वध गर्नुभएको थियो। मानिसले आफ्नो भित्री अन्धकार र अहंकारलाई  कालरात्रि  को रूपमा नष्ट गर्नुपर्छ। यस कठिन संकटपछि मन र बुद्धि पूर्ण रूपमा कञ्चन र स्पष्ट भई  महागौरी  स्वरूपमा रूपान्तरण हुन्छ। अन्ततः, मानिसले  सिद्धिदात्री  का रूपमा आत्मज्ञान र परम सन्तुष्टि  प्राप्त गर्छ।

 

Friday, July 31, 2026

दी अडीसी र रामायणको कथा प्रसँग













कवि होमरको महाकाव्य “दी अडीसी” मा आधारित क्रिष्टोफर नोलनको फिल्म “दी अडीसी” मा  ट्रोजन युद्ध पश्चात  राजा अडिसियस र उनको टोली घर फर्किने क्रमको यात्रामा कस्ता कस्ता दुर्लभ अनि कहालीलाग्दो घटना भए कसरी उनी समुद्री यात्रामा अनेकौं कठिनाइका बाबजुद आफ्नो राज्य इथाकामा फर्किन्छन् र अन्त्यमा कसरी आफ्नी रानी पेनेलपलाई विहे गर्न तम्तयार भएका दावेदारहरुबाट बचाउछन् भन्ने कुरालाई निक्कै सुन्दर पटकथा र वक्र शैलीमा कथा प्रस्तुत गरिएको छ ।

“दी अडीसी”  हेरेपछि पूर्वीय शास्त्र रामायणको झल्को आयो मलाई ।  जसरी राजा जनकले सीता स्वयंवरको लागि शिव  धनुषमा प्रत्यञ्चा  चढाउने प्रतियोगिता राख्छन् र श्रीरामले कसैले नसकेको धनुष उठाएर प्रत्यञ्चा  चढाउछन्  त्यसरी नै  रानी पेनेलपले अडिसियसको धनुष उठाउन आफुलाई विहे गर्ने दावेदारहरुसंग आव्हान  गर्छिन् । कसैले प्रत्यञ्चा  चढाउन नसके पछि  अन्त्यमा भिखारी भेषमा आएका   अडिसियसले धनुषमा प्रत्यञ्चा  चढाउछन् । माता सीता अशोकवाटिकामा बन्दी हुन्छिन् जहाँ रावणले मात्र दावी गर्न खोज्छ रानी बनाउन सीताजीले रावणका विभिन्न प्रलोभनलाई नकार्दै पति रामको प्रतीक्षामा हुन्छिन् तर  दी अडीसीमा  रानी पेनेलप आफ्नै दरबारमा बन्दी जीवन बिताएकी हुन्छिन् वरिपरी सयौं दावेदारहरु हुन्छन् उनलाई विहे गर्न र तिनीहरुलाई विभिन्न बहानामा समय लम्ब्याउदै पति अडिसियसको प्रतीक्षामा हुन्छिन् ।

अडिसियसको यात्रा श्रीरामको सीतालाई खोज्न हिडेको यात्रा जस्तो देखिनु  । यात्रामा राक्षसहरुसंग भेट हुनु । समुद्रसँग  जुध्दै घर फर्किने यात्रा निक्कै कहालीलाग्दो । त्यो कहाली लाग्दो यात्रामा जसरी श्रीरामले हनुमानको साथ पाए त्यसरी नि अडसियसले देवी एथेनाको साथ पाए । शूर्पणखा जसरी नाक कान काटिएर दाजु रावणको गुहार माग्छिन त्यसै गरी अडिसियसले  पोलिफिनस राक्षसको आँखा फोर्दा उसले बाबु समुद्र देव पोसेईडनलाई पुकार्छ अडिसियसको टोलीलाई मार्न । रामायणमा श्रीरामको रावणसंग भयङ्कर युद्ध हुन्छ भने दी अडीसीमा अडिसियसको समुद्रसँग भयंकर सामना  हुन्छ ।  भगवान श्रीरामको यात्रा धेरै जसो जंगलमा थियो भने अडिसियसको यात्रा धेरै जसो समुद्रमा थियो । श्रीराम सुनको मृगको पछि धनुष लिएर कुद्नु र पछि राक्षस मारिचमा बदलिनु त्यसै गरी अडिसियसले धनुष लिई  एउटा टापुमा मृगको पछि लाग्नु र बाण लागे पछि मान्छेमा परिणत हुनु ।

जसरी श्रीरामले १४ वर्ष पछि अयोध्या फर्के  त्यसै गरी  अडिसियसले २० वर्ष पछि आफ्नो राज्य इथाकामा फर्के । रामायणमा माता सीताको पृथ्वी गर्भमा भासिए  पछि  श्रीरामले पुत्रद्वय लभ र कुशलाई राज्य सुम्पेर वैकुण्ठलोक प्रस्थान गर्छन्  तर यसमा संगै दुवै जना दम्पत्ती  छोरा टेलिमिकसलाई राज्य सुम्पेर देश बाहिर जान्छन् । वाल्मीकिले श्रीरामको कथामा युद्ध पश्चात ग्लानि पश्चाताप देखाएक  छैनन् तर सीताजीको पृथ्वी गर्भमा भासिए पछि श्रीरामलाई ठुलो ग्लानि हुन्छ   तर दी अडीसी मा होमरले ट्रोय राज्यको लडाईमा नैतिकताको अभाव रहेको र त्यही  नैतिकताको अभावमा भएको ट्रोय राज्यमाथि ज्यादती गरेको यस कथाका मुख्य पात्र अडिसियसमा ठुलो ग्लानि हुन्छ त्यही ग्लानिलाई शान्त पार्न आफ्नी प्रियतम रानी पेनेलपेसंगै  राज्य त्याग्छन् । 

नवदुर्गाका नौ रुपबाट हामीले के सिक्ने ?

दुर्गा सप्तशतीको देवी कवच अनुसार प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् पञ्चमं स्कन्दम...