Sunday, May 18, 2025

बिरबलको धर्को

 


अकबर-बिरबल प्रसंगमा अकबरले कहिलेकाही गम्भिर प्रश्न सोध्ने त कहिलेकाही बिरबललाइ अप्ठ्यारोमा पार्न सोधिएका उट्पट्याङ प्रश्नहरुको पनि प्रसंगहरु आउछन् | बिरबलको जवाफले उनलाई अवाक बनाउछ सधैं | बिरबलको जवाफले समाजलाई संदेश पनि दिन्छ |ती सवाल जवाफ मध्ये एउटा यो बिरबलको धर्को पनि हो |
अकबरको प्रश्न हुन्छ : अकबरले श्यामपाटीमा चकले एउटा धर्को तान्छन | सबैलाई प्रश्न सोध्छन्, यो धर्कोलाई नछोई  छोटो बनाऊ| जो पनि आउछ त्यो धर्कोलाई छोटो बनाउन मेटाउन खोज्छ | अकबरले सबैलाई प्रश्नको शर्त सम्झाउछन् कि धर्कोलाई नछोई छोटो बनाउने | कसैले पनि त्यो नमेटाइकन छोटो बनाउन नसक्ने जिकिर गर्छन् | अकबर प्रश्न गर्छन् सबै भारदारहरुलाई, के बिरबलले सक्छन त ? उनले पनि सक्दैनन् भन्ने एक स्वर आउछ | सधै बिरबललाई प्रश्नको उत्तर दिने मौका शुरुमै दिने र उसलाई अब्बल कहलाउने तपाइँहरुले आरोप लगाउनु हुन्थ्यो | आज उनलाई अन्त्यमा यो प्रश्न सोध्छु त्यसो त तपाइँहरुको आरोप जस्तो अरुबेला पनि उनलाई शुरुमै उत्तर दिने मौका दिएको थिइन| प्रसङ्गवस बिरबल कतै हुन्छन् र उनलाई डाकिन्छ | अकबरले प्रश्न दोहोर्याउछन् श्यामपाटीको धर्कोलाई नछोइकन छोटो बनाउन | बिरबल फटाफट श्यामपाटी तर्फ जान्छन र चकले अकबरले कोरेको धर्को नजिकै अर्को लामो धर्को कोरी दिन्छन | अकबर तिर फर्केर मुसुक्क हास्छन्, ‘हजुरको धर्को नछोइकन छोटो भएन त सरकार ?’ अकबर अरु भारदारतिर फर्की मुसुमुसु हास्छन् |
हामी र हाम्रो समाज कता गैरहेको छ ? अरुलाई नराम्रो बनाएर आफूलाई राम्रो देखाउन खोज्ने हामी र हामिले बिगारेको हाम्रो  संस्कार कहिले बिरबलको जस्तो लामो धर्को हुने | हामी कहिल्ल्यै अरु भन्दा राम्रो बन्ने प्रयास गरेनौ बल्की अरुको खुट्टा तानेर राम्रो बन्न खोज्यौं | यसरी समाजले कहिल्ल्यै फड्को मार्दैन सधैं उल्टो बाटो तिर उन्मुख बनाउछ | यो हामी सबैले महसुस गरेकै हो, नतिजाले त्यही भन्छ | १९८० ताका हामीसंगै थिए चीन, कोरिया अनि जापान | उनीहरुको आफू राम्रो बन्ने  संस्कार (अरुको खुट्टा नतान्ने) ले  गगनचुम्बी भए हामी खाल्डो खन्दै पाताल प्रवेश गर्न  थाल्यौ |
संस्कार तल देखि माथि र माथि देखि तल जहाँ पनि अद्योगति तिरै देख्छु केही अपवाद बाहेक| सरकार परिवर्तन के भएको हुन्छ, सत्ताको मोहले denial stage मा रहेका नेताले भोलि देखि नै यो सरकार टिक्दैन भन्दै हिड्छन् | प्रतिपक्षले  यो सरकारलाई कसरी रचनात्मक तरिकाले जनताको हकहितका लागि पृष्ठपोषण गर्ने भन्दा पनि कसरी सरकार ढाल्ने तिर उन्मुख देखिने | सत्तामा रहेका पनि देश र जनताको हितमा काम गर्ने भन्दा नि म्युजिकल चेयरमा म छुटी पो हाल्छु कि भन्ने त्रासमा रही राख्ने, सरकारमा रहुन्जेल सम्म आफ्नो कर्तव्य पूरा गरौ भन्दा पनि प्रतिपक्षप्रति औला ठडाएर काम गर्न दिएनन् भन्ने | हामी जनता पनि उस्तै; त्यस्तै व्यक्तिलाई चुन्छौ अनि नेताले देश बिगारे भनेर कफी गफमा  चिन्ता टोपली हाल्छौँ | हामी जनता पनि अधिकारको अनावश्यक हल्ला गर्छौ तर आफ्नो कर्तव्य पूरा गर्दैनौ, मेरो कर्तव्य पनि छ र मेरो त अधिकारै अधिकार मात्र पो हो भन्ने भ्रम हामीबाट पनि हट्नु जरुरी छ | कर्तव्य सधै उच्च स्थानमा रहन्छ अधिकार भन्दा | सामाजिक संजालमा विरलै पाइन्छ होला नागरीकले आफ्नो देश प्रतिको कर्तव्य निभाएको केवल यस्तो भएन उस्तो भएन मात्र गुनासो देख्छु र अधिकार खोजेको मात्र देख्छु | यो व्रहमाण्डमा जसको पनि सीमितता छ फरक केवल कति ठुलो र कति लामो भन्ने मात्र हो | आफ्नो सीमितताको महत्व बुझी थोरै समयमा उच्चतम कार्य  कसरी पूरा गर्ने ध्यान कति दिन सक्छौ हामी ? सधै यो प्रश्न गर्न सक्नु पर्छ हामीले आफूलाई | लोकतन्त्रमा एउटा सुन्दर पक्ष भनेको  वाक स्वतन्त्रता हो तर यसको पनि सीमा छ, मर्यादा छ | यसको दुरुपयोग गरी उच्छृङ्खलता प्रहसन गर्यौ | कार्यालयमा सेवाग्राही आउनु हुन्छ, तिम्रो कार्यालय कति फोहोर हो ? प्रश्न गर्नु हुन्छ तर आफूले खाएको खैनी नजिकै रहेको डस्टबिनमा नफाली भित्तामा थुकी दिनु हुन्छ | अरुलाई प्रश्न गर्दा आफू पनि पहिले संस्कारित हुनु जरुरी छ | जनता संस्कारित नभए नेता संस्कारित हुँदैनन् कर्मचारी संस्कारित हुँदैनन | त्यही जनताकै गर्भबाट नेता जन्मेका हुन् त्यहीबाट कर्मचारी आएका हुन् | आकाश तिर फर्केर थुक्दा बिचार गर्नु पर्छ |

जबसम्म अकबरको धर्को मेटाउने कोशिश गर्छौ तबसम्म देशको प्रगति हुनेवाला छैन | देशको रुपान्तरण बिरबलको धर्कोले  गर्छ | बिरबलको धर्को कोर्न आजै देखि आफैबाट शुरु गरौँ: सुन्दर समाजको निर्माण अवश्य हुन्छ, देशले प्रवेग प्राप्त गर्छ  प्रगतिपथको |

के श्रीकृष्णमा चारै वर्णका गुणहरूको समावेश थियो ?

श्रीमद्भगवद्गीता सनातन   धर्मको एक महान दार्शनिक ग्रन्थ हो , जसमा भगवान् श्रीकृष्णले अर्जुनलाई युद्धभूमिमा जीवन , धर्म , कर्म र...