कन्चनजंघा सर्किट: १० दिनको यात्रा (भाग १)

 


पहिलो दिन
आज कंचनजंघा सर्किट घुम्न मन लाग्यो र आज भन्दा ६  वर्ष अघिको पललाई स्मरण  गर्न मन लाग्यो | कार्तिक महिनाको अन्तिम हप्ता तिर हो २०७३ सालको | जीवनमा एउटै बेस क्याम्प गएको छु त्यो हो कंचनजंघाको दक्षिणी बेस क्याम्प ओक्ताङ जुन ४५०० मी. भन्दा माथि छ | यो सर्किट पूरा गर्न दश  दिन लागेको थियो जुन अत्यन्तै दुस्साहसी काम थियो | तीन जना डाक्टरहरु : म, दीपक बन्जाडे जो अहिले हाडजोर्नी विषयमा धरानबाट एम एस गरी सकी भरतपुर् अस्पतालमा काम गरिरहेका छन् , सोनिङ लामा पनि अहिले हाडजोर्नी विषयमा धरानमा एम एस गर्दै छन्  र एकजना भरिया दाइ इन्द्र बुढाथोकी जो ताप्लेजुंग स्वास्थ्य कार्यालयमा कार्यरत छन् | ताप्लेजुङको  फुङलिङ  बजारबाट बिहान ५ बजे तिर सुकेटार उक्ली अनि  देउराली हुँदै  गाडीमा ओरालो लाग्यौ लालिखर्क हुँदै फावाखोला सम्म पुग्यौ | त्यहा चिया नास्ता खाई पदयात्रा शुरु भयो र एक  घण्टामा ओरालो झरी  फावाखोला तरयौ |

फावाखोलाबाट उकालो लाग्यौ  र बीचमा सिकैचामा खाना खाइयो – दिपकको फाटेको थियो  जुत्ता, सिलायौ |  उकालो चढ्यौ, टोपी खस्ने उकालो चढ्यौ र शिरमा तेल्लोक र सिकैचाको सिमानामा फोटो खिच्यौ | यी दुइ गाउँको सिमाना एउटा गोरेटोले छुट्ट्याएको रहेछ | यस सिमानालाई सिन्चेबु भन्ज्याङ भन्दा रहेछन् |  त्यहाँ बाटो पारी तेल्लोकमा खाजा  खायौ, १० बर्षे नानीको आर्ट पनि हेर्यौ | यात्रा अगाडी बढायौ र पेदाङमा एक लाहुरे बाको घरमा बास बस्यौ र हलुवावेदको रक्सी खायौ लोकल कुखुराको मासु संग र लाहुरेबाको लाहुरे जीवनी सुन्दा चकित भयौ |

दोश्रो दिन

पेदाङबाट अर्को दिन बिहानै हिड्यौ  याङपाङ तिर | याङपाङको रिंगटा लाग्ने भिर पार गरी एउटा चौतारीमा  आराम गर्यौ |  अगाडी पुगी बिस्कुट चिया खायौ र कुम्भकर्ण लाई क्यामरामा कैद गर्यौ | ओरालो झर्दा  तल एउटा झरना देख्यौ र झोलुंगे पुलमामा फोटो खिच्यौ | उकालो चढ्यौ  र तेर्सो बाटो लागि मामंखे पुग्यौ र स्वास्थ्य चौकीको निरीक्षण गर्यौ |  त्यहा बाट याम्फुदिन लागे पछी जंगलै  जंगल ठाउ ठाउमा अलैची बगान टहल्दै काबेली खोलाको तीरै तीर  लाग्यौ | पछिलो १ घण्टामा याम्फुदिन पुग्यौ | सानो खुला मैदान पायौ जहाँ प्रहरी चौकी पनि रहेछ, प्रहरी साथीहरु संग भलाकुसारी गर्दै चिया खायौ र साना नानी बाबुहरुको तस्बिर कैद गरी हाम्रो  स्वास्थ्य चौकीको स्टाफको  घर आराम गर्यौ | कुरा गर्ने क्रममा एकजना आमै दमले थला परेको कुरा निकाले स्टाफ भाइले | माथि छिमेकमा ती  आमैलाइ हेर्यौ र अस्पतालमा  उपचार गर्नु पर्ने सल्लाह दियौ | अस्पताल मरी गए जान्न भन्ने आमैको लागि त्यहाँको स्वास्थ्यकर्मीलाई भनेर आवश्यक औषधी फुङलिङबाट ल्याउन सल्लाह दियौ र फर्क्यौ वासस्थान तिर | स्टाफ भाइले बंगुरको मासु र  तोङ्वा खुवाए | दुई दिनको यात्रामा याम्फुदिन पुग्दा थकान केही थियो होला त्यसैले मस्त निद्रा लागेछ |

तेश्रो दिन

तेश्रो दिन याम्फुदिनबाट बिहानै उकालो चढ्यौ र  माथि भोटेगाउ पुगी पिठोको खाजा खायौ | त्यहाँका भोटेहरुले आफुलाई शेर्पा भन्न रुचाउदा रहेछन | बाबु बाजेको पाला देखि भोटे थर लेखेकोले उनीहरुको नागरीकतामा पनि भोटे थर रहेछ | दुई  घण्टाको तेर्सो बाटो  हुदै  उकालो चढे पछि एउटा छाप्रो आयो त्यहा खाना खायौ | पसीना पखाल्यौ नुहाएर |  लास्सेको उकालो - अत्यन्तै उकालो, टोपी खस्ने उकालो चढ्यौ, कहिल्यै नसकिने उकालो | यस्तो उकालो कहिल्यै नचढेको अनुभूति गरायो | जति चढे पनि नसकिने त्यो उकालो विस्तारै विस्तारै चढ्यौ | पारीका पहाडहरुलाई नियाल्दै तिनको मानव आकृति संग तुलना गर्दै उकालो चढ्यौ | साँझ ६ बजे तिर  लास्से भन्ज्यांग आइ पुग्यौ | यो खुल्ला मैदान थियो | उत्तरमा कुम्भकर्ण सुन जस्तै टल्केको थियो | सांझको बास त्यही बस्यौ | खाना चै मीठो थिएन तर पनि भोक मार्न खानु बाध्यता थियो | रातीको जाडोलाई हाम्रो स्लिपिंग ब्यागले त्यति थेग्न सकेन जाडोले राम्रै सेक्यो हामीलाई |

चौथो दिन

भोली बिहान उत्तर तिर कुम्भकर्ण हिमाल टल्केको  देखियो | त्यसलाई क्यामरामा कैद गरे |  त्यसैलाई हेर्दै हामी अघि बढ्यौ | लास्से भन्ज्याङबाट पदयात्रा शुरु गर्दा नगर्दै ठुलो पहिरो रहेछ | यसले बाटो खाएछ | पहिरोको शिर हुदै माथि पुगी फेरी तल झर्यौ बाटोको अर्को भाग समात्न | मुस्किलले त्यो बाकी बाटो समायौ|   चार पांच  घण्टाको दौरान पछि  खोलाको छङछङको आवाज आयो | यो तोरोङदेन खोला रहेछ | एकै छिन खोला नियाल्दै  तोरोङदेन पुग्यौ | तोरोङदेनमा दुई तीन ओटा होटल रहेछन | एकजना दाइको होटलमा चौरीको सुकुटी रहेछ | चौरीको सुकुटी अनि स्थानीय हरियो तरकारीसंग भात राम्रै खायौ र लास्से भन्ज्याङको खानालाई बिर्साउने गरी धित मारेर खाना खायौ | क्यामराको ब्याट्री पावर कम भएकोले अर्को होटलमा विशेष अनुरोध गरेर रिचार्ज गर्यौ सोलार पावरबाट |  त्यहा खाना खाएर बिस्तारै हल्का उकालो लाग्यो | थोरै उकालो, थोरै ओरालो अनि तेर्सो गर्दै खोलाको किनारमा पनि पुग्दै पद यात्रा अगाडी बढ्यो | चेराम पुग्नु केही समय अघि ड्याम जस्तो देखिन्थ्यो कन्चनजंघाको दक्षिणी भाग | बाटोमा चौरीका बथानलाई नियाल्दै  सांझ ६ बजेतिर चेराम पुग्यौ |

चेराममा ४/५ ओटा होटल भए पनि एउटा होटलमात्र खुलेको थियो | हामी बाहेक अरु पदयात्री पनि थिए | भरियाबाट पथप्रदर्शक भएका साथीहरुको रमाइलो गफ साथमा तोङ्वा, अगाडी तातो चुल्हो | अत्यन्तै रमाइलो वातावरण थियो | एक प्लेटको चार सय  रुपैया पर्ने फ्रेन्च फ्राई  पनि खायौ | चौरीको सुकुटी पनि खायौ | राती एघार बजे तिर आराम गर्यौ |

पाँचौ दिन

हिजो राती सुत्नु भन्दा अगाडी खाजाको व्यवस्था गर्न भनेका थियौ होटल वालालाई | चियापत्ती बनाइ  दिउं ? भन्नु भो, हामी अलमल पर्यौ; चियापत्ती ! चपाती भन्न खोज्नु भएको रहेछ, हुन्छ भन्यौ | भोलि पल्ट बिहान ओक्ताङ बेस क्याम्प तिर लाग्यौ | 

४००० मी. भन्दा माथिको हाइट हिड्न अलिक कठिन भो र पनि बिस्तारै हिड्यौ |  खुल्ला चौर, माथि डांडामा नाउरका बथान, छेउमै चौरीका झुण्ड अनि पोखरी  र उत्तर तिर सेतो हिमाल – दृश्य साह्रै मनमोहक थियो, यही त होला नि शांग्री-ला भनेको अनुभूति भयो | यो ठाउ थियो राम्जेर | त्यहाँ चिया खाई  ओक्ताङ  बेस तिर लाग्यौं |


केही घण्टाको हिडाई पछि सुन्दर हिमाल कंचनजंघा साथै कुम्भकर्ण आफ्नै आखा अगाडी उभिएको देखे र तल यालुङ ग्लेसियर | अत्यन्तै हर्ष उल्लासमय वातावरण थियो | यो थियो कन्चनजंघाको दक्षिणी बेस क्याम्प- ओक्ताङ | ओक्ताङको उचाइ ४७४० मी. रहेछ |  कन्चनजंघाको मुख्य चुचुरोको उचाइ ८५८६ मी. छ  | यो विश्वको तेश्रो अग्लो हिमाल हो | कन्चनजंघाको ४ ओटा चुचुरा छन् – वेस्ट, मेन, सेन्ट्रल  र साउथ | 







कुम्भकर्णको उचाइ ७७१० मी. छ | यो  विश्वको ३२औ अग्लो हिमाल हो | यसलाई जन्नु वा फक्ताङ्लुङ् पनि भनिन्छ | यस बेसमा पुस अप पनि गर्न छोडिएन |पुस अप गर्दा अत्यन्तै आनन्द पनि आयो |


ओक्ताङमा शिवजीको  मन्दिर पनि रहेछ | शिवजीको दर्शन गर्यौ र आशिर्वाद पनि थाप्यौ | त्यहाँ एउटा चार रुले कापी रहेछ जसमा आएका मानिसहरुले आफ्नो टीमको नाम लेख्दा  रहेछन हामीले पनि त्यसै गर्यौ | कन्चनजंघा र कुम्भकर्ण हिमाललाई पृष्ठभूमिमा राखेर फोटाहरु खिच्यौ र शिवजीको मन्दिर  छेउ पनि फोटाहरु खिच्यौ | इन्द्र र मैले आफ्नो श्रीमतिलाई कति माया गर्छौ भनेर पनि भाव पोख्यौ | हामी तीन जनाले ज्याकेट

लगाएका थियौ इन्द्रले कोट लगाएको थियो | ऊ नै होला पहिलो व्यक्ति होला  जो कन्चनजंघा बेस क्याम्प पुगेको कोट लगाएर |  एक  घन्टाको समय बिताई दुवै हिमालसंग बिदा मागी शिवजीसंग आशिर्बाद थापी चेराम फर्क्यौ| बाटोमा मलाई हिड्न निकै गाह्रो  भो | ज्वरो पनि आएछ | जीउ फतक्कै गलेछ |जसोतसो चेराम पुग्यौ | माथि कोठामा जाने क्रममा उज्यालो नभएकोले मोबाइलको टर्च बालौ भनेको तल खस्यो त्यो पनि                                                                            पानीमा | इन्द्रले लिएर आयो स्क्रीन चर्केको रहेछ |                                                                            पानीलाई कपडाले
सोसी  झिनो आसमा झोलामा राखे मोबाइल |

नोट : बेस क्याम्पबाट सेलेल चुचुरो हुँदै घुन्सा झर्दै घुन्सा देखि फर्किदा कहाली लाग्दा क्षणहरुलाई भाग २ मा पस्किने वाचा गर्दै फेरी भेट्ने वाचा पनि गरे है 



Comments

Post a Comment

Popular posts from this blog

Boarding Bajura

My Traveling: Recalling Chitlang